सिंगापुर भ्रमण

अघिल्लो हप्ता सिंगापुर घुम्ने अवसर जुर्यो । मलेसिया बसेको एक बर्ष पुग्दा पनि बिभिन्न कारणले नै भनौ यो अवसर जुरेको थिएन । तर यसपाली बुद्ध जयन्ती (मलेसियामा वासेक (Vasek) को नामबाट चिनियाँ मूलका मलेसियाली बुद्धिस्टहरुका लागी विदा दिने चलन रहेछ) को विदाको सदुपयोग गरेर सिंगापुर घुम्ने चाँजो पाँजो मिलाई एक रात बस्ने गरी घुम्न निस्केँ । नेपाललाई सिंगापुर बनाउँछौ भन्ने चुनाबी घोषणा सुनेको देशले साच्चै कस्तो समृद्धी गरेको रहेछ भनेर उत्सुक्ता थियो । अलि कम खर्चमा कसरी भ्रमण गर्न सकिन्छ भनेर खोज्दा म बसेको ठाउँ पेतालिङ जयाबाट बसमा जान सकिने रहेछ, त्यसैले सोही अनुरुप गरियो ।

curve

curve

curve

curve
जोहोर बाहारुका तस्बिरहरु

क्वालालम्पुरको बसपार्क टर्मिनल बेर्सेपदु सेलतन (TBS) बाट जोहोर बाहारुका लागी बस चढेँ । क्वालालम्पुरको सो बसपार्क सुबिधा सम्पन्न रहेछ, प्रवेश द्वारमा QR Code टिकट रिडर, बस चड्ने बिभिन्न गेटहरु, ठुलो Waiting area ले विमानस्थल कै झझल्को दिन्थ्यो । ६:३० बजेको बस समयमा नै हिड्यो । रातभरी बस मै यात्रा गर्नुपर्छ भनेर सो रातको होटेल बूकिङ गरेको थिइन तर बस त ११:३० मै पुग्ने रहेछ त्यसैले हतार-हतार होटेल बूकिङ गरेँ । भोलिपल्ट जोहोर बाहारुको बिभिन्न ठाउँहरुको भ्रमणमा निस्केँ । जोहोर चिडियाखाना, चिनियाँ म्युजियम, पासार बजार, Bridge sidewalk, सिटी मल लगायत ठाउँहरु घुमेँ र बेलुका एउटा नेपाली रेस्टुराँमा खाना खाएर होटेलमा फर्केँ ।

भोलिपल्ट त्यहाँको अध्यागमन बिभागमा गएर त्यही नजिकको बस स्टेसनबाट सिंगापुर लागेँ । सिंगापुरमा अध्यागमनको काम अलि बढी लागेकोले गर्दा मलेसियामा चढेको बस छुट्यो र त्यही मिलेको अर्को बस चढेँ । यात्राका क्रममा बाटो छेउको हरियाली, सुन्दर ब्यबस्थित घरहरुले मन्त्रमुग्ध बनायो ।

त्यहाँबाट सिंगापुरको केन्द्र मेर्लिओन (Merlion) लागेँ । यो क्षेत्र यस्तो रहेछ जहाँ सिंगापुरका मुख्य पर्यटकिय आकर्षणहरु रहेछन । विश्व प्रसिद्द SkyPark Observation Deck, Merlion, Art Science Musium, हेलिक्स पुल , सिंगापुर फ्लाईएर, दुरियानको आकृतीको Esplanade, एप्पलको आकर्षक स्टोर, सम्मेलन केन्द्रहरु र सुबिधा सम्पन्न होटेलहरुले यसलाई सिंगापुरको केन्द्र बनाएको रहेछ । त्यहाँ रहेको नदीलाई समुद्र छेउमा एक ड्याम बनाइ पानी नियन्त्रण गरी राखिएको रहेछ । यो नदीको वरिपरी एतिहासिक भवनहरु, पुलहरु र अरु सम्रचनाहरु रहेछन जसलाई बोटमा घुम्दा बिस्तृत रुपमा बर्णन गरिँदोरहेछ । यो स्थल यती भिड हुँदोरहेछ कि बस्ने ठाउँ पाउन पनि मुस्किल हुँदोरहेछ ।

सिंगापुरको मन परेको बिशेषताहरु त्यहाँ रहेको सफा सडक, सडक वरिपरीको हरियाली, लगभग सबै ठाउँमा पुग्न सकिने बसका नेटवर्कहरु । म जापानमा बसिसकेकोले यी दुइ देशहरुलाई दाँज्दा सिंगापुर जापान भन्दा पनि ब्यबस्थित लाग्यो । यो भ्रमण भरी मैले यहाँको सार्बजनिक बस कै प्रयोग गरेँ । यस पल्ट विश्वप्रसिद्द विश्वबिद्यालयहरु सिंगापुर न्याश्नल विश्वविद्यालय, नान्याङ प्राविधिक विश्वविद्यालय, केबल कार र Universal Studio घुम्न पाइन तर अर्को पल्ट अवस्य घुम्नेछु । यस पल्टको भ्रमणमा एउटा रोचक घटना पनि घट्यो । मलेसिया फर्किने क्रममा चाँगी अन्तरास्ट्रीय विमानस्थलमा सेकुरिटी चेकअपमा कुन देशको नागरिक हौ भनेर सोध्यो, मैले नेपालबाट भन्दा गोर्खा भनेर मेरो पाखुरा छाँम्दोरहेछ अनि सिंगापुरमा सिंगापुर गोर्खा पुलिस छ भन्दो रहेछ । स्मरणिय कुरा के छ भने नेपाली नागरिकलाई सिंगापुरमा "On arrival" भिसा उपलव्ध हुन्छ एक महिनाको लागी । यसको कारण सिंगापुर गोर्खा पुलिसले सुरक्षा दिएर हो भन्ने गरिन्छ (तथ्य त मैले चेक गरेको छैन) ।

तर सिंगापुर महँगो रहेछ । यहाँको नागरिकको आय अनुसार त महँगो होईन तर हामी नेपालीहरुका लागी धेरै नैं महँगो हो । अन्तराष्ट्रीय चेन रेस्टुराँहरु पनि अरु देशको अनुपातमा महँगो रहेछ । त्यसैले भ्रमण गर्दा सार्बजनिक बसहरुमा यात्रा गर्ने, ७-एलेवेन (7-Eleven) को खाना जस्तै नूडल्स खाने, स्पेसपोड अथवा होस्टेलमा बस्ने गर्‍यो भने खर्च कम गर्न सकिन्छ ।

यसरी घुँम्दै गर्दा एउटै कुरा दिमागमा आउँदो रहेछ किन हाम्रो देश यस्तो हुन सकेन ? किन हामी यस्तो भयौ र किन सिंगापुर त्यस्तो भयो ? के हाम्रो नेतृत्व र राजनीतिक पार्टीहरु यस्तै काँयापलट गर्न सक्छन ? के हाम्रा नेताहरुमा लि-क्वानमा जस्तो भिजन छ ? ३५ बर्ष त हामीले उनिहरुलाई हेरिसक्यौ अब पनि कती उनिहरुलाई विश्वास गरिरहने ? देशले काँयापलट फेर्न १० बर्ष भन्दा बढी नलाग्ने रहेछ । सन १९६५ मा पुर्णरुपमा स्वतन्त्र भएको देश अहिले शक्तिशाली देशको रुपमा रहेको छ । फेरी पनि अब यही नेतृत्वलाई दोहोर्याउन हुन्न भनेर धृढ संकल्प आयो ।

सिंगापुरको बारेमा विकिपेडियामा त्यहाँको नेतृत्वको योग्यता हेर्दा दुबै राष्ट्रपति र प्रधानमन्त्री हार्वड विश्वविद्यालयबाट दीक्षित रहेछन । GDP मा अगाडि, पासपोर्ट सबैभन्दा शक्तिशाली, दुनियाँकै टप विश्वविद्यालयहरु यही रहेको छ । विश्वविद्यालयहरु उत्कृष्ट नभई देश विकाश नहुने रहेछ र विज्ञानप्रविधि, नवीनता (innovation) र योग्यताको आधारमा बिश्वविद्यालय लगायत सस्थानहरुमा नियुक्ती लगायतका सुशासन नभई देश बिकास हुँदैन भन्ने उदाहरण सिंगापुरले दिन्छ ।

तस्वीरहरु
Singapore-2
हेलिक्स पुल

Singapore-3
Merlion

Singapore-4
Merlion

Singapore-5
SkyPark Observation Deck

Singapore-6
Esplanade

Singapore-8
SkyPark Observation Deck

Singapore-9
एप्पल स्टोर